मकैको बोटमा घोगा छ, दाना छैन « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

मकैको बोटमा घोगा छ, दाना छैन


यलम्वर टाइम्स
११ बैशाख २०७६, बुधबार ०८:२८

अर्जुनधारा । दुइ कृषकको खेतबारीमा लगाएको मकैमा बोट लहलह भएर आए पनि घोगाभित्र दाना नभएको बताएका छन् ।

अर्जुनधारा–७ मिलडाँडा स्थित रामबहादुर बस्नेत र स्थानीय काजी थापाको खेतमा लगाएको मकैको बोटमा यस्तो देखिएको हो ।

रामबहादुर भन्छन्, ‘बोट लहलह आएको छ, घोगा ठूलै देखिन्छन् तर दाना भने एउटा छैन ।’

रामबहादुरले आजभन्दा तीन महिनाअघि १० कठ्ठा जमिनमा सीपी जातको मकै लगाएका थिए । गुणस्तरीय र उन्नत जात भनेर लगाएको मकै केही केहीमा दाना भेटीए पनि अधिकांश बोटहरुमा दाना भेटिदैन ।

रामबहादुरको मात्र होइन काजी थापाले लगाएको ७ कठ्ठा जमिनमा पनि यस्तै दुर्दशा खेप्नु परेको छ । यसरी नै फूलमाया सुब्बाकोमा भने छिटफुट बोटमा दाना भेटिए पनि अधिकांश घोगाभित्र दाना नभेटिएको उनी बताउँछिन् ।

यस विषयलाई लिएर कृषि शाखा अर्जुनधाराकी मीना अधिकारीसँग बुझ्न जाँदा सीपी जातको मकै त्यस्तो नहुनुपर्ने हो, आवश्यक अनुसन्धानका लागि अनुगमन गरेर प्रतिवेदन बनाउने आश्वासन दिएको रामबहादुरले बताए ।

रामबहादुर, काजी र फुलमायाको गरी ६० हजारभन्दा बढी मकै उत्पादनमा खर्च भएको बताइएको छ ।