कनकाई माईमा मलामी विश्रामालय निर्माण सम्पन्न « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

कनकाई माईमा मलामी विश्रामालय निर्माण सम्पन्न


यलम्वर टाइम्स
२४ बैशाख २०७६, मंगलवार ०४:२१

व्याङडाडा । एक थुकी सुकी सय थुकी नदी भनेजस्तै सकारात्मक कार्यमा समाज जुट्यो भने कुनै काम असहज हुँदैन भन्ने दृष्टान्त शिवसताक्षी नगरपालिका वडा नं. ७ मा लामो समयदेखि समाज सेवामा लागेको कल्याणकारी व्यापारी समूहले पेश गरेको छ ।

उक्त समूहको पहलमा शिवसताक्षी–७ मा पर्ने कनकाई माई किनारमा कनकाई माई भगवती मलामी विश्रामालय निर्माण सम्पन्न भई आईतबार विधिवत् उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रममा जग्गादाता कृष्णप्रसाद+रेखा ओली, ख्याम+दिलमाया पोखरेललाई सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको छ । उनीहरुले १०÷१० धूर गरी जम्मा एक कठ्ठा जग्गा दान गरेका थिए ।

त्यस्तै हस्तबहादुर राया, बलभद्र, भीम र दिलबहादुरलाई एक लाख ५१ हजार एक सय पाँच रुपैयाँ प्रदान गरेर मलामी विश्रामालय निर्माणमा सहयोग पु¥याएबापत दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरिएको छ ।

त्यस्तै ५१ हजार एक सय पाँच रुपैयाँ सहयोग गर्ने स्थानीय व्यक्तित्व तारासिंह लिङदेनलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरिएको छ ।

उक्त कार्यक्रममा दक्षिण कोरियामा कार्यरत स्थानीय व्यक्तिहरुले ७० हजार एक सय र दोहा कतारका स्थानीयहरुले ७० हजार एक सय सहयोग गरेबापत सम्मान गरिनुका साथै अन्य विभिन्न सहयोगीहरुलाई समेत सम्मान गरिएको छ ।

१८ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त मलामी विश्रामालयलाई कल्याणकारी व्यापारी समूहले मासिक एक हजार रुपैयाँ बचत गरेर त्यसबाट आएको ब्याजको २५ प्रतिशत लगानी गरेको हो ।

संस्थाले २०७५ को तिहारमा देउसी खेलेर जम्मा गरिएको एक लाख २० हजार रुपैयाँसमेत विश्रामालयमा लगानी गरेको छ ।

मुख्य सडक खण्डको कन्काई माई पुलबाट अन्दाजी ३ किलोमिटर दक्षिणमा रहेको कन्काई माई नदीको किनारमा विश्रामालय निर्माण गर्दा स्थानीयबासीहरुलाई सहज भएको छ । तर माई नदीमा बाढी आउँदा त्यस क्षेत्रमा निर्माण भएको विश्रामालयमा क्षति पुग्ने भन्दै स्थानीय सरकारलाई बाटो तथा बाँध व्यवस्थापनका लागि अनुरोध गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले समूहगत क्रियाशिलताको कारण यो पुण्य कार्यमा सफलता मिलेको भन्दै समूहको प्रशंशा गरेका छन् ।

उनले यही जेठभित्र काम सकिनेगरी मलामीहरुको सहजताको लागि सोलार बत्ती जडान गर्ने वचन दिएका छन् ।

कार्यक्रममा उपमेयर भोजकुमारी नेपाल, रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज ओली, वडा सदस्य प्रेमलाल भुजेल, स्थानीय समाजसेवी तारासिंह लिङदेन लगायत समाजका प्रतिष्ठित व्यक्तित्व, नागरिक समाज, विभिन्न संघसंस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समूहको अध्यक्ष इन्द्रप्रसाद ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत शिवकुमार भण्डारीले गरेका थिए भने सञ्चालन टंक भण्डारीले गरेका थिए ।