अधिकार रक्षाका लागि बुद्धशान्तिमा मानव अधिकार समूह गठन « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

अधिकार रक्षाका लागि बुद्धशान्तिमा मानव अधिकार समूह गठन


यलम्वर टाइम्स
५ मंसिर २०७६, बिहीबार १२:०२

बुधबारे । मानव अधिकार र सामाजिक न्यायका निम्ति बुद्धशान्ति गाउँपालिकामा पालिका स्तरीय मानव अधिकार समूह गठन भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (र्ईएलपी) कार्यक्रम अन्तर्गत बुधबारे स्थित रेडक्रस भवनमा भएको परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमलाई उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले गरेकी थिइन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उपाध्यक्ष भुर्तेलले काम गर्दै जाने क्रममा सबै क्षेत्रमा जनप्रतिनिधिको आँखा नपुग्ने भएको बताउँदै स्थानीय सरकारलाई झकझकाउन, सल्लाह, सुझाव दिन मानवअधिकार समूह गठन हुनु सकारात्मक भएको बताइन् ।

उनले हिंसामा केवल महिलाहरुमा नभइ पुरुषहरु पनि पर्ने भएको बताइन् । उनले समस्ता मानव जातको हितमा काम गर्ने समिति गठन हुन लागिरहेकोमा खुशी व्यक्त गर्दै नयाँ बन्ने समितिले निष्पक्ष रुपमा मानवअधिकारको विषयमा काम गर्नुपर्नेमा जोड दिइन् ।

उपाध्यक्ष भुर्तेलले बुद्धशान्ति गाउँपालिकामा गठन भएको समितिलाई पूर्ण रुपमा साथ सहयोग गर्दै अगाडि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।

इन्सेक प्रदेश न. १ का संयोजक सोमराज थापाले स्थानीय तहले पालना गर्नुपर्ने थुप्रै विषय रहेको भन्दै अब आर्थिक, सामाजिक र साँस्कृतिक विषय उठाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका कार्यपालिका सदस्यहरु यमुना चापागाँई, रमा अर्याल, वडा सदस्य नेत्र गौतम, दलित समन्वय समितिका बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष वीरेन्द्र घतानी लगायतले इन्सेकको ल्याएको कार्यक्रमलाई सहयोग रहेने बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको लक्ष्य संविधानले सुनिश्चित गरेको शिक्षा, स्वास्थ्य, खाद्यय तथा आवासका अधिकारलाई स्थापित गराउने रहेको कार्यक्रम अधिकृत बागमत्ती कट्टेलले बताइन् ।

कार्यक्रममा देवकुमारी शेर्माको अध्यक्षतामा पछि थप गर्ने गरी १४ सदस्यीय मानव अधिकार समूह समेत गठन गरिएको छ । समूहको उपाध्यक्षमा देवीध्वज योञ्जन, सचिव निलमणि न्यौपाने, सह–सचिव जानुका धमला रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा भीम लकान्द्री, विवेशकुमार मुखिया, मेनुका तामाङ्ग, भीम विश्वकर्मा, कृष्ण वली दनुवार, मीना पौडेल, दिपक गौतम, सावित्रा आचार्य निरौला र दिपेन लावती रहेको परियोजनाका स्थानीय सहजकर्ता राजन राईले जानकारी दिए ।