अर्जुनधारामा सिचाईंका लागि बजेटभन्दा बढी उपकरणको माग « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

अर्जुनधारामा सिचाईंका लागि बजेटभन्दा बढी उपकरणको माग


यलम्वर टाइम्स
३ पुष २०७६, बिहीबार ११:३४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा बिनियोजित रकमभन्दा ५ गुणा बढी रकमको सिंचाई र उपकरण माग भएको छ ।

नगरपालिकाले आह्वान गरेको समयमा विभिन्न समूह, व्यक्ति र सहकारीका ५५ वटा निवेदन परेको कृषि शाखा प्रमुख दिपक गिरीले जानकारी दिए ।

नगरले १५ लाख रुपैंयाँ बिनियोजन गरेर सार्वजनिक गरेको सूचनाका आधारमा ७२ लाख ५४ हजार ८२५ रुपैंयाँ बराबरको आवेदन परेको हो ।

आवेदन गर्नेमा अधिकांस कृषक समुह रहेका छन् । केही ब्यवसायिक कृषि फर्मले पैनी मर्मत र मोटर खरिदका लागि माग गरेको भएपनि कृषि सहकारीको उपस्थिती नगन्यमात्रामा रहेको पाइएको छ ।

नगरपालिकाले कार्तिक १८ गतेदेखि १ महिनाको म्याद राखेर सिंचाई आवश्यक पर्ने किसानलाई आवेदन दिन सूचित गरेको थियो । सो समयमा परेका निवेदनमाथि अध्ययन शुरु गरिएको गिरीले बताए ।

उनले लाभान्वित हुने जनसंख्या, उत्पादन र प्रभावकारीताका आधारमा परियोजना छनौट गरिने बताए । व्यवसायिक तरकारी खेती र फलफूल उत्पादनलाई प्राथमिकता दिएर सिंचाईको सुविधा उपलब्ध गराउने गिरीले बताए ।

अनुदान लिने र सदुपयोग नगर्ने परिपाटीको विकास भएपछि नगरपालिकाले अनुगमन शुरु गरेको नगर प्रमुख हरिकुमार रानाले बताए ।

फिल्डबाटै अध्ययन गरेर सिंचाईको आवश्यकता अध्ययन गरेपछि अन्य श्रोतबाट बजेट जुटाउन पहल गर्ने उनको भनाई थियो ।

नगरपालिकाको मुख्य ध्यान त्यस स्थानमा कृषिको विकास गर्नका लागि भएको भन्दै प्रमुख रानाले वास्तविक किसानसम्म राज्यको पहुँच पु¥याउन आफै अनुगमनमा निस्किएको बताए ।

कृषिमा पनि खासगरी मासु, दूध, धान, मकै, तरकारी र फलफुलको लागि पकेट क्षेत्र घोषणा गरेर तिब्र गतिमा कार्यान्वयन गरिरहेको प्रमुख रानाले जानकारी दिए ।

उपप्रमुख कमला आचार्यले प्राथमिकताको क्षेत्र अनुसार किसानलाई अनुदान दिने बताइन् । उनले सरकारको अनुदान वास्तविक किसानसम्म पु¥याउने नगरपालिकाको योजना भएकाले अनदान रकमलाई हौसलाका रुपमा लिन समेत आग्रह गरिन् ।