अर्जुनधाराले सशस्त्रको नयाँ भवनलाई क्वारेन्टाइन स्थापना गर्ने « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

अर्जुनधाराले सशस्त्रको नयाँ भवनलाई क्वारेन्टाइन स्थापना गर्ने


यलम्वर टाइम्स
८ चैत्र २०७६, शनिबार ०५:२४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण तत्काल देखा परे बिरामीलाई छुट्टै स्थानमा राखेर सेवा दिनका लागि क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।

शुक्रबार नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाको नेतृत्वमा गएको टोलीले वडा नं. ८ स्थित सशस्त्र प्रहरीको नवनिर्मित भवनलाई बिरामी राखेर उपचार गर्न सकिने भएको हुँदा त्यसलाई प्राथमिकताका साथ स्थान तोकिएको छ ।

उक्त भवनमा डाक्टर बस्ने र आवश्यक सामग्री राख्ने साथै १६ भन्दा बढी बिरामीलाई उपचार गर्न सकिने भएको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए ।

क्वारेन्टाइन राख्न उपयुक्त भएको हुँदा सशस्त्रको नवनिर्मित भवन उपयुक्त भएको प्रमुख भुर्तेलले बताए । उनका अनुसार शनिश्चरे बहुमुखी क्याम्पस, अर्जुनधारा–६ मा रहेको हाउजीङ हाताभित्र रहेको एक घरको पनि अवलोकन गरिएको छ ।

सुखानी प्रतिष्ठान, अर्जुनधारा जलेश्वरधाम, प्रत्येक स्वास्थ्य चौकी, आदि ठाउँमा मेडिकेटर सामग्री सहित स्वास्थ्यकर्मीहरु रहने र स्वाथ्यकर्मीहरुले लगाउने पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पीपीई) ७ सेट खरिद गरिएको समेत जानकारी दिए ।

यसरी नै नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न अर्जुनधारा नगरपालिकाले सचेतना कार्यक्रम गरेको छ ।

नगरको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले बढी भिडभाड हुने क्षेत्रमा नजान र आवश्यक सचेतता अपनाउन आग्रह गरे । कोरोना भाइरसको संक्रमणबाट बच्न नगरबासीका लागि स्थानीय स्तरमै हेन्डस् सेनेटाइजर निर्माणका लागि प्राविधिकबाट समूह समूहमा तालिम दिन सकिने भएकाले त्यसका लागि पहल थाल्न नगर प्रमुख रानाले स्वास्थ्य शाखालाई निर्देशन दिएका छन् ।

नगरमा रहेका विभिन्न सामाजिक संंघसंस्था, सामुदायिक वनलगायतलाई तालिममा सहभागी गराएर उनीहरुको सामाजिक उत्तरदायित्व बोध गराइ कारोना भाइरसको संक्रमणबाट बच्न र बचाउन आग्रह गरिने भएको छ ।

कोरोना भाइरसको संक्रमण र त्यसबाट बच्ने उपायका बारेमा सबै वडाले कार्यक्रम गर्न नगर प्रमुख रानाले सम्बन्धित वडाध्यक्षहरुलाई पनि निर्देशन दिए ।

कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि सुरक्षित पहिरनका सामग्रीमा पनि ध्यान दिन उनले आग्रह गरेका थिए ।

नगरका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी, स्थानीय प्रशासन र स्वास्थ्यकर्मीबीच अन्तरक्रिया भएको हो ।

कार्यक्रममा स्वास्थ्यकर्मीबाट नगरले स्थापना गरेको हेल्प डेक्सबाट आगन्तुकको इन्फारेट थर्मामिटरबाट ज्वरो नाप्ने र साबुन पानीले हात धुन आग्रह गरिरहेको बताए ।

कार्यक्रममा डा. मुना नेपालले सहभागीलाई कोरोनाको लक्षण, बच्ने उपाय र अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी गराएकी थिइन् ।

उनले कोरोना भाइरसको संक्रमित व्यक्ति नेपालमा फेला परिनसकेका कारण डराउनुपर्ने अवस्था नरहेको तर संक्रमणबारे सचेत भएर सुरक्षाका उपया अपनाउन आवश्यक रहेको बताइन् ।

नगरपालिकाले बढी ओहोरदोहार र जमघट हुने नगरपालिकाको गेट, बसपार्क र स्वास्थ्य केन्द्रमा हेल्प डेस्क स्थापना गरिसकेको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, पशुपक्षी शाखा प्रमुख पदमलाल राई, जनप्रतिनिधि, पत्रकार, स्वास्थ्यकर्मी लगायतले सुझावसहित जिज्ञासा राखेका थिए ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले गरेका थिए ।