साठ्ठीमुरेमा १० करोडको बुद्धको प्रतिमा बन्ने « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

साठ्ठीमुरेमा १० करोडको बुद्धको प्रतिमा बन्ने


यलम्वर टाइम्स
२४ जेष्ठ २०७७, शनिबार ०४:५४

अर्जुनधारा । धार्मिक नगरको रुपमा परिचित पूर्वको अर्जुनधारा नगरपालिकाले आउने दिनमा यसै नगरपालिका वडा नं. २ को साठ्ठीमुरेमा एसियाको ज्योति भगवान गौतम बुद्धको प्रतिमा राखिने योजना रहेको नगरले जनाएको छ ।

अर्जुनधारा र माई नगरपालिकाको सिमानामा रहेको साठ्ठीमुरेको भित्तामा बुद्धको प्रतिमा राखिने योजना यसअघि नै बनेको हुँदा उक्त स्थानमा सोयल टेष्टसँगै लागत स्टिमेट समेत बनेको हुँदा बुद्धको प्रतिमा प्रतिस्थापन गर्न लागिएको हो ।

पर्यटकीय दृष्टिकोणले साठ्ठीमुरे त्यसै सुन्दर छ । त्यसको उत्तर पट्टि माई नगरपालिका पर्ने थाक्ले लक्ष्मीपुर रहेको हुँदा त्यस ठाउँमा कविर पन्थीहरुको बसोबास रहेको छ ।

‘सादा जीवन उच्च विचार’ बोकेर बसेका कविर पन्थीहरुको भावनालाई सहयोग पुग्ने गरी साठ्ठीमुरेमा बुद्धको प्रतिमा रहँदा अझ धार्मिक आस्थाको धरोहर हुने भएकोले १० करोड लागत लाग्ने बृहत परियोजनाका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारको साझेदारीमा योजना अघि बढाउन विशेष रुपमा पहल गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, वडा नं. १ का अध्यक्ष गजाधर खतिवडा, २ का रघुनाथ खनाल, ३ का जीवनकुमार भण्डारी, ४ का दुर्गाप्रसाद दाहाल, ५ का ध्यानबहादुर भारती, ६ का लोकनाथ गौतम, ७ का नवराम ढुंगाना, ८ का गोपीकृष्ण गौतम, ९ का पुष्पकुमार प्रसाई, १० का बलदेवसिंह गोम्देन र ११ का भैरवबहादुर खड्काको उपस्थिति रहेको थियो ।

बृहत रुपमा भएको बैठकमा कार्यपालिका सदस्य दिलमाया दास, रमेशकुमार दर्जी, सकुन्तला बराल, शारदाकुमारी भट्टराई, लक्ष्मी तामाङ र हरिमाया भण्डारीको समेत उपस्थिति रहेको थियो । बैठक २० गते मंगलबार बसेको थियो ।

अर्जुनधारा नगरमा पूर्वकै पशुपतिनाथले प्रचलित अर्जुनधारा जलेश्वरधाम लगायत एक सयभन्दा बढी मठमन्दिर रहेको उल्लेख छ ।