पीसीआर प्रयोगशालाका लागि पाँचथरका दिपक नेपालले दिए २१ हजार « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

पीसीआर प्रयोगशालाका लागि पाँचथरका दिपक नेपालले दिए २१ हजार


यलम्वर टाइम्स
८ असार २०७७, सोमबार १०:३८

[तुलसीप्रसाद निरौला]

बिर्तामोड । झापाको सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न जनस्तरबाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागि फिदिम–१ पाँचथरका दिपक नेपालले आर्थिक सहयोग गरेका छन् ।

पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल अलैंची व्यवसायी महासंघका पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका नेपालले पीसीआर प्रयोगशाला स्थापनाका लागि २१ हजार एक सय ६२ रुपैयाँ प्रदान गरेका हुन् ।

उनले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारका लागि एकका लागि एक अभियानले नागरिकस्तरबाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागि निर्वाह गरिरहेको भूमिकाबाट प्रभावित भएर व्यक्तिगत रुपमा उक्त रकम प्रदान गरिएको नेपालले बताए ।

प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या बढीरहेकोले कोरोना संक्रमितको उपचारका लागि पीसीआर प्रयोगशालाको आवश्यकता टड्कारो रुपमा देखिएकाले ‘एकका लागि एक’ अभियानले जनस्तरबाट झापामा पीसीआर प्रयोगशाला स्थापना गर्न लागेकाले आफूले पीसीआर प्रयोगशाला स्थापनाका लागी आफूले सहयोग गरेको उनले बताए ।

प्रदेश १ मा जनस्वास्थ्य परीक्षण प्रयोगशाला विराटनगर, विराटनगरको कोशी अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको पीसीआर परीक्षणका भइरहे पनि रिपोर्ट आउन एक साताभन्दा बढी समय पर्खनुपर्ने बाध्यता भएकाले झापामै कोरोना परीक्षणका लागि पीसीआर प्रयोगशाला सञ्चालनमा आए इलाम, पाँचथर लगायतका पहाडी जिल्लाका बासिन्दा लाभान्वित हुने भएकाले आफूले सहयोग गरेको उनले बताए ।

आफूले व्यक्तिगत रुपमा सहयोग गरे पनि पाँचथर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग छलफल गरेर संस्थागत रुपमा समेत सहयोग गर्ने उनले बताए ।

‘एकका लागि एक’ अभियानले नागरिकस्तरबाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागि नेपालले गरेको सहयोग अनुकरणीय रहेको ‘एकका लागि एक’ अभियानका साझेदार संस्था बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए ।

उनले पीसीआर प्रयोगशाला स्थापनाका लागि विभिन्न उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरिरहेकाले पाँचथर उद्योग वाणिज्य संघलाई पनि सहयोग गर्न आग्रह गरे ।

‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना गर्ने भनिएको पीसीआर प्रयोगशाला कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा राखिने भएको ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

उनले ‘एकका लागि एक’ अभियान अन्तर्गत हालसम्म ७० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको र जसमध्ये विपन्न परिवारलाई राहत, भीटीएम किट, विपन्नलाई खाना लगायतका शीर्षकमा करिब ४० लाख रुपैयाँ खर्च भएर ‘एकका लागि एक’ अभियान अन्तर्गत ३० लाख रुपैयाँ बचत रहेको जानकारी दिए ।

पीसीआर प्रयोगशालाका लागि आवश्यक मेसिन र उपकरण खरिदका लागि हालसम्म ८० लाख रुपैयाँभन्दा बढी रकम जुटीसकेको ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेतले बताए ।

उनले जनस्तरबाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागि सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

‘एकका लागि एक’ अभियान संवाद समूह झापाको संयोजन र सहजीकरणमा सञ्चालन भइरहेको बताइएको छ ।