जनप्रतिनिधिमा निर्वाचित झापाका चारजना पूर्व पत्रकारलाई महासंघद्वारा सम्मानसहित विदाइ « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

जनप्रतिनिधिमा निर्वाचित झापाका चारजना पूर्व पत्रकारलाई महासंघद्वारा सम्मानसहित विदाइ


यलम्वर टाइम्स
१ श्रावण २०७९, आईतवार ०६:१०

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना पूर्व पत्रकारलाई सम्मान गरेको छ ।

शनिबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पूर्व पत्रकार जनप्रतिनिधिलाई सम्मान गरेका हुन् ।

पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य रहेका अनिल वाग्ले तथा साधारण सदस्यहरु अग्निप्रसाद कोइराला, सुशन राई र उमेश राउतलाई सम्मानपत्र, खादा र माला पहिर्याएर सम्मान गरिएको हो ।

वाग्ले बुद्धशान्ति गाउँपालिका वडा नं. १ को वडाध्यक्ष, कोइराला कमल गाउँपालिका वडा नं. ३ को वडाध्यक्ष, राई माङ्सेबुङ गाउँपालिका इलामको कार्यपालिका सदस्य र राउत बिर्तामोड वडा नं. ४ को वडासदस्यमा निर्वाचित भएका हुन् ।

महासंघ झापाले पत्रकारिता क्षेत्रका हालसम्म पुर्याएको योगदानको कदरसहित सम्मान र जनप्रतिनिधिको रुपमा निर्वाचित भएकोमा बधाई तथा कार्यकाय सफलताको शुभकामना व्यक्त गरेको छ । महासंघले सम्मानसहित उनीहरुलाई सक्रिय पत्रकारिताबाट विदाइ समेत गरेको छ ।

महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए भने सम्मानपत्रको वाचन सहसचिव अर्जुन राजवंशीले गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व पत्रकार जनप्रतिनिधिहरुले सञ्चारमैत्री पालिका र वडा बनाउँदै महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रमुख अतिथि बिर्तामोडका उपप्रमुख संग्रौलाले प्रश्न गर्ने पत्रकारको भूमिकाबाट जवाफ दिने जनप्रतिनिधिको भूमिकामा निर्वाचित हुने चारै जनालाई जनताप्रति जिम्मेवार बन्न सुझाव दिएका छन् ।

संग्रौलाले जनप्रतिनिधिको जीवनशैली सादगी, कार्यशैली पारदर्शी र घुस नखाने हुनुपर्नेमा जोड दिए । उनले जनताका साना–साना समस्यालाई पनि उत्तिकै प्राथमिकता दिएर जनप्रतिनिधिले स्थानीय सरकार हरेक नागरिकको अभिभावक भएको अनुभूति दिलाउनुपर्ने बताए ।

उनले बिर्तामोडको मुख्य समस्या फोहोर व्यवस्थापन, डुबान, सार्वजनिक शौचालय लगायतका दिगो समाधानमा नगरले काम गरिरहेको जानकारी गराए ।