महारानीगञ्जमा नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता हुने « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

महारानीगञ्जमा नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता हुने


यलम्वर टाइम्स
२८ पुष २०८०, शनिबार ०७:०६

अर्जुनधारा । अर्जुनधारा–११ स्थित महारानीगञ्ज माविमा प्रथम स्व. कृष्णप्रसाद डाँगी स्मृति अर्जुनधारा नगरपालिका स्तरीय अन्तर मावि नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा माघ २ गतेबाट नगरपालिका स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता हुन लागेको हो ।

विद्यार्थीहरुले पढ्नसँगै खेल्ने अवसर पनि पाउनुपर्छ भन्ने उद्देश्यले महारानीगञ्ज मावि बाल क्लबको आयोजनामा तथा स्वर्गीय बुबा कृष्णप्रसादको स्मृतिमा डाँगी परिवारको प्रायोजनमा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतियोगितामा ८ वटा विद्यालयको सहभागिता रहनेछ । उद्घाटन खेलमा आयोजक विद्यालय महारानीगञ्ज मावि विरुद्ध लक्ष्मी मावि लक्ष्मीपुरले प्रतिस्पर्धा गर्ने छ ।

त्यस्तै माघ ३ गते शनिश्चरे माविका विरुद्ध सिंहदेवी मावि, माघ ४ गते भानु मावि फुलबारीका विरुद्ध अर्जुनधारा मावि भाङबारी र माघ ५ गते जनता मावि खुदुनाबारीका विरुद्ध कालिस्थान माविले स्पर्धा गर्नेछन् । माघ १० र ११ गते सेमिफाइनका खेल खेलाइने छ ।

माघ १५ गते हुने फाइनल खेलको विजेताले नगद २० हजारसहित ट्रफी, मेडल पाउने विद्यालयका प्रअ मनबहादुर लिम्बूले बताए ।

प्रतियोगिताको उपविजेताले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याच खेलाडीले नगद एक हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा बेस्ट गोल किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, हाइ स्कोरर र प्लेयर अफ दी सिरिज हुने खेलाडीहरुलाई नगद दुइ हजारसहित ट्रफी प्रदान गरिने विद्यालयका शिक्षक प्रदिप बस्नेतले जानकारी दिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यप्रसाद भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रममा प्रायोजक परिवारका अरुणकुमार डाँगी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले ‘मामा’, पूर्व वडाध्यक्ष भैरवबहादुर खड्का, प्रेस क्लब अध्यक्ष रमेश समदर्शी, जग्गा दाता भूमिनाथ बराल, जुनकिरी आधारभूत विद्यालयका रञ्जीत परियार लगायतको उपस्थिति रहेको थियो ।